काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा विभागीय क्लब नेपाल पुलिसले विजयी सुरुआत गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको उद्घाटन खेलमा पुलिसले वाग्मती प्रदेशलाई ६८ रनले पराजित गरेको हो ।
पुलिसले पहिला ब्याटिङ गर्दै ८ विकेट गुमाएर २८२ रन बनाएको थियो । जवाफमा वाग्मतीको टोली ४२.३ ओभरमा सबै विकेट गुमाएर २१४ रनमा समेटियो । पुलिसका लागि सातौं नम्बरमा आएका राशिद खानले नटआउट शतकीय पारि खेल्दै बलियो योगफल तयार पार्न सहयोग गरे । उनले १०६ रनको पारि खेल्दा आरिफ शेखले ५६ रनको अर्धशतकीय पारि खेले । राशिद प्रधानमन्त्री कपको यो सिजन शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् भने सातौं नम्बरमा आएर शतक बनाउने घरेलु प्रतियोगिताको पनि पहिलो खेलाडी बने । पुलिसका सुनील धमला र अमृत श्रेष्ठले समान २०–२० रन बनाए ।
यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले २१ रन बनाउँदा दिलीप नाथले १३ तथा करण केसीले १५ रनको योगदान गरे । वाग्मतीका रिजन ढकाल र सूर्य तामाङले तीन–तीन विकेट लिँदा गौतम केसी र सोनु देवकोटाले एक–एक विकेट लिए ।
२८३ रनको लक्ष्यसहित मैदान उत्रिएको वाग्मती प्रदेश ४२.३ ओभरमा सबै विकेट गुमाएर २१४ रनमा रोकिन पुग्यो । वाग्मतीका लागि आशुतोष गररियाले ९२ रनको पारि खेल्दा इशान पाण्डेले ४४ रनको योगदान गरे । पहिलो विकेटका लागि यी दुई खेलाडीले ९६ रनको बलियो साझेदारी गरे पनि त्यसपछि लगातार विकेट पत्तन हुँदा लक्ष्य पूरा गर्न असफल भयो । सोनु देवकोटाले १९ तथा विपिन आचार्यले १७ रन बनाउँदा गौतम जीसीले १३ रनको योगदान गरे । प्रतीक श्रेष्ठले १० रन बनाउँदा कप्तान ऋत गौतम ९ रनमा आउट भएका थिए ।
पुलिसका सागर ढकालले ३ विकेट लिँदा करण केसी, रासिद खान, दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए भने ललित राजवंशीको नाउँमा एक विकेट रह्यो ।