
काभ्रे । झोलुगेँ पुल बेचेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । काभ्रेको रोशी गाउँपालिका कटुञ्जेबेशीबाट रघुचौर खार्पाचोक चिसापानी वाईवाडाँडा हुँदै महाभारत गाउँपालिका जोड्ने एकमात्र विकल्पको रुपमा रहेको झोलुङे पुल रोशी गाउँपालिका ७ का वडा अध्यक्ष अशोक कुमार गौतम(हूदराज) ले पचिस लाख रुपैयाँमा कवाडीलाई बिक्रि गरेका हुन् ।
गौतमले गत बैशाख २५ गते कवाडीलाई बिक्रि गरेको र सो रकम आफनै बैक खातामा जम्मा गरेको थाहा पाएपछि वडा सदस्य मानर्दोजे तामाङ सहित स्थानीयबासीले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा आईतबार किटानी जाहेरी दर्ता गरेका छन् । मुलुकी अपराध संहिता २०७४ अनुसार झोलुङेपुलको सामान चोरी तथा डाका सम्बन्धि कसुर अन्तर्गत अध्यक्ष गौतमलाई पक्राउ गरिएको हो ।
विपि राजमार्गदेखि ग्रामिण बस्तिसम्म जोडने उक्त पुल सार्वजनिक सम्पतिको संरक्षण र सुव्यवस्था कायम गर्नुृको साटो खुलेआम सार्वजनिक सम्पति बिक्रिमा सक्रिय अध्यक्ष गौतमले आफनो वडा भित्र पर्ने कटुञ्जेवेशीबाट रघुचौर खार्पाचोक जाने झोलुङले पुल बिक्रि गरेर रकम आफनै बैक खातामा जम्मा गरेका थिए ।
रोशी गाउँपालिका वडा नं. ७ र नमोबुद्ध नगरपालिका वडा ६ थान्सीङमापर्ने मोटरवाटोमा रहेका फलाम जन्य सामग्रीहरु समेत अध्यक्ष गौतमले पचिस लाख रुपैयाँ लिएर पुलका सामग्रीहरु लोड गरी पठाउदै गरेको अवस्थामा जेठ १२ गते राती बा.५ ख ४६२६ र बा २ ख ४००१ नम्बरका दुई ट्रकहरु स्थनीयको सूचनाका आधारमा कटुञ्जे चौकीका सई मनु सापकोटा नेतृत्वको टोलीले नियन्त्रणमा लिएको थियो ।
ट्रक सहित कवाडी व्यवसायी मुन्दु कुमार र जितेन्द्र पासवान प्रहरीको नियन्त्रणमा छन् भने वडा अध्यक्ष गौतमलाई पनि काभ्रेको कटुञ्जेबाट काभ्रेभञ्ज्याङ तिर भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । वडा अध्यक्ष गौतमले वडाको सामाजिक कार्यका लागि बजेट विनियोज गर्ने र कामै नगरी वीलभरपाई नक्कली बनाई रकम निकासा गरी आफ्नै खातामा पठाउने गरेको स्थानीयको गुनासो छ ।