काठमाडौं । कमला कार्की स्मृति प्रतिष्ठानले कराते खेलाडी अन्जली महर्जन सहित विभिन्न क्षेत्रका पाँच जनालाई सम्मान गरेको छ । नैकापस्थित ब्राइट फ्युचरमा शनिबार आयोजित कार्यक्रममा कराते खेलाडी महर्जनसँगै मिस नेपाल २०२० नम्रता श्रेष्ठ, पत्रकार ममता थापा, चन्द्रागिरी नगरपालिका वडा १४ र १५ का धनमाया महर्जन र भगवती खत्रीलाई सम्मान गरिएको हो ।
सम्मानमा १० हजार १ रुपैयाँ नगदसहित प्रशंसापत्र प्रदान गरिएको छ । संस्था सम्मानतर्फ नेवारी वाजा खललाई १ लाख १ रुपैयाँसहित प्रशंसा पत्रबाट सम्मान गरियो । कराते खेलाडी महर्जनले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर राष्ट्रको गौरव बढाएकाले सम्मान गरिएको आयोजकले जनाएका छन् । अन्जलीले नेपालमा भएको सातौं दक्षिण एसियाली कराते प्रतियोगिताको महिला ५० केजीमुनि स्वर्ण जितेकी थिइन । त्यस्तै, भारतको मुम्बईमा भएको मुम्बई अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पनि तीन पदक जित्न सफल भएकी थिइन् । अन्जलीले एकल र टिम काता तथा कुमुतेमा स्वर्ण जितेकी थिइन् ।
पूर्वमन्त्री, लेखक, साहित्यकार एवं समाजसेवी भद्रकुमारी घले, पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, वाग्मती प्रदेशका सांसद् केशव पोखरेल, कमला कार्की स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं ब्राइट फ्युचर स्कुलका प्रिन्सिपल मोहनकुमार कार्कीले सम्मानित हुनेलाई बधाईसहित खादा र प्रशंसापत्र प्रदान गरे । स्व.कमला कार्कीका छोरा मोहनकुमार कार्कीले आमाको नाममा स्थापना गरेको संस्थाले विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गर्दै आएको छ ।
संस्थापक अध्यक्ष मोहनकुमार कार्कीले विभिन्न क्षेत्रमा सफलता हासिल गर्नेलाई आफ्नो संस्थामार्फत सम्मान गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।