रोकियो ममताको सागर

२०७९ पुष ७, बिहीबार १६:३२ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

हिमलाल घर्ती
काठमाडौँ, ७ पुस । अक्षर शिरोमणि मदनमणि दीक्षितिकी धर्मपत्नी रीता दीक्षितको ९७ वर्षको उमेरमा बुधबार राती निधन भएको छ । साहित्यकार इल्या भट्टराई, विनोद दीक्षित, प्रमोद दीक्षित तथा भूकम्पविद् आमोदमणि दीक्षितकी ममतामयी मामुको महाप्रस्थानले ममताको सागर रोकिएको छ ।

उहाँ बारा जिल्लाको पिपरामा जन्मिनु भएको थियो । मदनमणि दीक्षितसँग विवाह भएपछि उहाँको काठमाडौँ, वनारस, बारा परिवारसँगै आवत जावत हुन्थ्यो । वास्तवमा दीक्षित परिवारको दुःख र सुखको घडीमा अदम्य सहासका साथ सहयोग गर्ने गर्नुहुन्थ्यो । आफ्नो बुबाले मासिक रुपमा खर्च स्वरुप छोरीलाई दिएको रु. १०० मदनमणि दीक्षितको अध्ययनमा खर्च गरी प्रख्यात आख्यानकार, पत्रकार, फोटोग्राफर, उपन्यासकार मदनमणि दीक्षित बनाउन उहाँको अहम् भूमिका रहेको कुरा आफ्नो “जीवन महाअभियान” पुस्तकमा मदनमणि दीक्षितले उल्लेख गर्नु भएको पाइन्छ ।

वास्तवमा उहाँका छोराछोरी आज साहित्य, भूकम्प जस्ता विभिन्न क्षेत्रमा चर्चित छन् यसको मुख्य देन उहाँ नै हो । उहाँ कहिल्यै कसैसँग रिसाउनु भएन । सदैव खुसीका साथ मिठो बोली वचन व्यवहार गर्नु हुन्थ्यो ।

जीवनको पछिल्लो चरणमा मदनमणिसँगै सार्वजनिक कार्यक्रमहरुमा हर्षका साथ आफ्नो उपस्थिति जनाउनु हुन्थ्यो । सबैलाई शुभार्शीवाद दिइरहने, सहयोग गरिरहने महान् आत्माले भरिपूर्ण ममताकी खानी हुनुहुन्थ्यो ।

मदनमणि दीक्षितले उहाँसँग विवाह भएको केही वर्षपछि एक रात घर गृहस्थी जीवनबाट सन्यास लिने उहाँसँग कुरा गर्नु भएछ । “सन्यासी बन्ने भए मलाई किन विवाह गरेको ?” भनी रातभरि रुनु भएछ । त्यसपछि मदनमणि दीक्षित सन्यासी बन्नबाट पछाडि फर्कनु भयो र नेपाली भाषा साहित्यले “माधवी” उपन्यासजस्तो गहन कृति पायो ।

जो कोही आफ्नो घरमा आएपछि हर्षका साथ चिया पकाउन भान्सातिर गइहाल्नु हुन्थ्यो । चिया र विष्कुट वा अन्य चियासँग खाने केही लिएर आएपछि सँगै बसेर बडो मिठा, असल कुराहरु गर्नुहुन्थ्यो । जीवनको उत्तराद्र्धमा उहाँको महिमा बोध भएर मदनमणि दीक्षितले उहाालाई ‘मेरी देवीजी’ भनी सम्बोधन गर्नुहुन्थ्यो । हो साँच्चिकै उहाँ देवी जस्तै हुनुहुन्थ्यो । अष्टेलियामा रहेकी देव ललिता अर्थात् साहित्यकार तथा पत्रकार निरु त्रिपाठीलाई छोरी भनेर असाध्य माया गर्नु भएको स्तम्भकारलाई आज पनि ताजै छ ।

ममदीको अवसानपछि हामी सँगै बसेर लेख्ने त्यो ठाउँ देख्दा मन भावविभोर हुन्थ्यो । सबै फिल्मजस्तै झल्झली याद आउँथ्यो त्यसैले म कमै जाने गर्थें । कोरोनाको कहरपछि उहाँलाई भेट्न, देख्न मन लागेर गएँ । उक्त समयका उहाँको स्नेह, ममता, बोली, वचन, आवाज, शुभाशीर्वाद आज कानमा गुञ्जिरहेका छन् ।

आज नेपाली भाषा साहित्य, प्राकृतिक प्रकोप (भूकम्प) जस्ता विविध क्षेत्रमा विज्ञ, चर्चित व्यक्तित्वहरुको निर्माणमा अदृश्य रुपमा मलजल, गोडमेल गरी शिखरमा पु¥याउने विशाल हृदय, कर्मयोगी हातहरु, रगत र वंशाणु जीनहरु उहाँकै हुन् । यसमा अहम् भूमिका उहाँको रहेको कुरा जगजाहेर विषय हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार