अनुदानको दुरुपयोग भएको थाहा पाएमा नगरपालिकामा जानकारी दिनु : नगरप्रमुख भट्टराई

२०८१ जेष्ठ ३१, बिहीबार १३:१९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङजा । स्याङजाको गल्याङ नगरपालिका नगरप्रमुख गुरुप्रसाद भट्टराईले सरकारी अनुदान लिएर दुरुपयोग गरेको थाहा पाएमा नगरपालिका कार्यालयमा जानकारी दिन आग्रह गरेका छन् । नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख भट्टराईले यस्तो बताएका हुन् ।

‘ कृषि क्षेत्रको विकासका लागि नगरपालिकाले उत्पादनमा वृद्धि गरेको छ भने निर्यातका लागि निरन्तर प्रयास भईरहेको छ । केही क्षेत्रमा नतिजा पनि आउन थालेका छन् ।’ उनले भने ‘ कसैले अनुदान लिएर दुरुपयोग गरिरहेको थाहा पाएमा नगरपालिका कार्यालयमा आई जानकारी दिनु । यदि प्रमाणीत भयो भने हामी कारवाही गर्छौ ।’

नगरप्रमुख भट्टराईले सफलता के कुरालाई मान्ने भन्नेबारे बुझाईमा केही समस्या रहेको भन्दै नगरपालिकाको सेवा प्रवाहमा भएका प्रगतिहरुको सकारात्मक समिक्षा हुनुपर्ने बताए ।सीमित स्रोत र साधनलाई परिचालन गर्दै नगरपालिकालाई विकासको गतिमा अघि बढाइएको उनको भनाई छ । नगरपालिकामा भएको झण्डै साढे चार सय किलोमिटर ग्रामिण बाटोको स्तरउन्नती एकैपटक नहुने भन्दै प्रमुख भट्टराईले आवश्यकताका आधारमा क्रमशः स्तरउन्नती गर्दै जाने बताए । उनले वडाको समन्वयमा नाली व्यवस्थापनको कामलाई निरन्तरता दिएको जिकिर गरे ।

नगरप्रमुख भट्टराईले विपन्न परिवारका लागि आफुले निरन्तर काम गरेको भन्दै नगरपालिकाले आफन्त नभनी आवश्यकताको आधारमा काम गरिरहेको बताए । उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई अगाडि बढाइरहेको भन्दै उनले नगरपालिकाले वास्तविक किसानलाई निश्पक्ष भएर सहयोग गर्न कृषि र पशु शाखालाई निर्देशन दिएको स्पष्ट पारे ।

बुटवल पावर कम्पनीको आँधीखोला वितरण केन्द्रका ग्राहकहरुका लागि शुल्क बढाएको सन्दर्भमा आफुले विज्ञप्ति मार्फत विरोध गरिरहेको भन्दै अन्य पालिकासँग पनि समन्वय गरिरहेको जानकारी दिए । यस्तै एक घर एक धारा निर्माण गर्ने, वडा कार्यालय नभएका वडाको आफ्नै कार्यालय बनाउने तथा वडा कार्यालयसम्म पुग्नका लागि पक्की सडक बनाउने, मुख्य सडकबाट सहायक बाटोहरुको कालोपत्रे गर्ने जस्ता काममा गल्याङ नगरपालिका लागिरहेको बताए ।

सकारात्मक सोचका साथ इमान्दारितापूर्वक असल नियतका साथ काम गरिरहेको भन्दै नगरप्रमुख भट्टराईले नगरपालिकाले गरिरहेका काममा आवश्यक सहयोग र समन्वय गर्न समेत नगरबासीलाई आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार