वैशाखदेखि फिल्म निर्माण गर्दै गायक प्रकाश सपुत

२०७९ फाल्गुन १६, मंगलवार ०९:३१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । पहिलो फिल्म ‘परदेशी २’ रिलिज नहुँदै गायक तथा अभिनेता प्रकाश सपुत एक फिल्म निर्माणको गृहकार्यमा जुटेका छन् । वैशाखमा उनले फिल्म घोषणा गर्ने तयारी गरेका छन् ।

यसैसाता धादिङमा सम्पन्न राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं महाधिवेशनको क्रममा उनले यसबारे जानकारी गराएका हुन् । प्रतिष्ठानको केन्द्रीय सचिवमा निर्वाचित सपुतले निर्माण तथा निर्देशन पनि आफैं गर्ने तयारी गरेका छन् । आफ्ना गीतमार्फत चर्चित उनले म्युजिक भिडियोलाई पनि कथानक शैलीमा बनाउँदै आएका छन् । उक्त अवसरमा सपुतले भने, ‘आगामी वैशाखमा टाइटल घोषणा गर्ने तयारी हो ।’ फिल्म निर्माणबारे उनले विस्तृत खुलाएका छैनन् ।

उनले यसैसाता फेसबुकमा एक स्टाटस पोस्ट गरेका थिए, जसले उनको फिल्म निर्माणको योजनातर्फ संकेत गर्छ । उनले लेखेका छन्, ‘बीचमा अलिकति अलमलिएँ । अब चाहिं नयाँ पागलपन सुरु भएको छ । पागलपनभित्र पाक्दैछ नयाँ परिकार । प्रतीक्षा गर्नुहोला ।’ सपुतले आफ्ना अघिल्ला अन्तर्वार्तामा समेत फिल्म निर्माणको योजनाबारे संकेत गरेका थिए ।

नारायण रायमाझी निर्देशित सोसल ड्रामा ‘परदेशी २’बाट सपुतले अभिनयमा डेब्यु गरेपनि यो फिल्मको रिलिज पटक–पटक सर्दै आएको छ । गत दशैंमा आउने भनेर प्रचार भएपनि रोकिएको फिल्म पुनः आगामी दशैंमा प्रदर्शन गर्ने तयारी छ । यसबीचमा केही दृश्यको पुनः छायांकन गरिएको समेत जनाइएको छ ।प्रकाशले निर्माण गर्ने फिल्म ‘परदेशी २’ पछि मात्रै रिलिज गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार