पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौंतर्फ प्रस्थान गरेका छन् । उनलाई पोखराको पुरानो विमानस्थलमा समर्थकहरुले भव्य बिदाई गरे । पोखरामा निजी भ्रमणका क्रममा लामो समयका बिताएपछि पूर्वराजा आज काठमाडौं फर्किन लागेका हुन् । समिट एयरको चार्टर जहाजमार्फत उनी आउँदैछन् ।
पोखरा विमानस्थलमा पूर्वराजालाई बिदाई गर्न समर्थकको भिड लागेको थियो । उनलाई पञ्चेबाजा बजाएर बिदाई गरियो । समर्थकले राजसंस्थाको समर्थनमा नाराबाजी समेत गरे । पूर्वराजा दुवोको माला लगाएर निस्किएका छन् । संस्कृतिविद् डा.जगमान गुरुङ पनि पूर्वराजालाई बिदाई गर्न विमानस्थल पुगेका थिए ।
काठमाडौंमा पूर्वराजालाई भव्य स्वागत गर्ने तयारी गरिएको छ । त्रिभुवन विमानस्थल अगाडि हजारौं समर्थकहरू जम्मा भइसकेका छन् ।




