काठमाडौँ । विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेर अलपत्र परेका ५१ जना नेपालीहरूको उद्धार गरिएको छ। थाइल्याण्डस्थित नेपाली दूतावासको पहल, कम्बोडिया सरकारको सहयोग र गैरआवासीय नेपाली संघ (NRNA) कम्बोडियाको सहजीकरणमा उद्धार गरिएका उनीहरू बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दैछन्।
दूतावासका अनुसार उद्धार गरिएकाहरूलाई कम्बोडियाका अवैध अनलाइन ठगी (स्क्यामिङ) केन्द्र र क्यासिनोहरूमा गैरकानुनी काममा लगाइएको थियो। धेरैजसो नेपालीहरू बिना राहदानी वा भिसाको अवधि सकिएको अवस्थामा फेला परेका थिए। स्क्यामिङ केन्द्रहरूले राहदानी जफत गरिदिने भएकाले दूतावासले उनीहरूलाई नेपाल फर्किन निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरिदिएको छ।
पछिल्लो समय कम्बोडिया जाने नेपालीहरूको संख्या डरलाग्दो गरी बढेको छ। सन् २०२१ मा १०१ जना मात्र कम्बोडिया गएकोमा सन् २०२५ मा यो संख्या बढेर ९ हजार ६७६ पुगेको छ। दूतावासले धेरै पैसा कमाउने लोभमा भ्रमण भिसा प्रयोग गरी कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड जस्ता मुलुकमा वैदेशिक रोजगारीका लागि नजान आग्रह गरेको छ। यसअघि चैत ५ गते २० जना र फागुन २८ गते १६ जना नेपालीको कम्बोडियाबाट उद्धार गरिएको थियो।




