काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति निवास शीतल निवासमा उनलाई शपथ गराउने कार्यक्रम रहेको छ, जसका लागि केसी शीतल निवास पुगिसकेका छन्।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित केसी प्रतिनिधिसभाका कुल २७५ सदस्यमध्ये सबैभन्दा ज्येष्ठ हुन्। उनले राष्ट्रपतिबाट शपथ लिएपछि अन्य नवनिर्वाचित सांसदहरूलाई शपथ गराउने संवैधानिक व्यवस्था रहेको छ। यसपटकको निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी २७५ सदस्य निर्वाचित भएका छन्।




