मध्यपूर्वको युद्धले एशियामा इन्धन संकट: फिलिपिन्समा संकटकाल, श्रीलंकामा कडा बचत नियम

२०८२ चैत्र ११, बुधबार १२:२० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । अमेरिका-इजरायल र इरानबीचको बढ्दो युद्धका कारण एशियाली देशहरूमा इन्धनको चरम अभाव र मूल्यवृद्धि सुरु भएको छ। प्रमुख व्यापारिक मार्ग ‘होर्मुज जलसन्धि’ बन्द हुँदा आपूर्ति शृङ्खला बिग्रिएपछि फिलिपिन्स र श्रीलंकाले गम्भीर आपतकालीन कदमहरू चालेका छन्।

फिलिपिन्समा एक वर्षका लागि संकटकाल:
इन्धनको मूल्य दोब्बर भएपछि फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले एक वर्षका लागि ‘राष्ट्रिय ऊर्जा संकटकाल’ घोषणा गरेका छन्। देशमा अब करिब ४५ दिनलाई मात्र पुग्ने इन्धन मौज्दात रहेको छ। सरकारले इन्धन जोगाउन सरकारी कर्मचारीलाई सातामा ४ दिन मात्र काम गर्ने (फोर डे वर्क विक) नियम लागू गरेको छ। यद्यपि, मजदुर संगठनहरूले संकटकालको विरोध गर्दै बिहीबार र शुक्रबार यातायात हड्तालको घोषणा गरेका छन्।

इन्धन र बिजुलीको संकट गहिरिएपछि श्रीलंकाले सरकारी निकायहरूका लागि कडा ऊर्जा बचत निर्देशिका जारी गरेको छ। कार्यालयहरूमा एयर कन्डिसन (एसी) को सट्टा पङ्खा चलाउन, लिफ्टको सट्टा सिँढी प्रयोग गर्न र सम्भव भएसम्म कर्मचारीलाई ‘वर्क फ्रम होम’ (घरबाटै काम) गराउन निर्देशन दिइएको छ। साथै, विद्युतीय प्रणालीमा परेको दबाब कम गर्न इभी प्रयोगकर्तालाई रातिको समयमा गाडी चार्ज नगर्न आग्रह गरिएको छ।

एशियाली बजारका लागि आवश्यक ९० प्रतिशत तेल र ग्यास होर्मुज जलसन्धिबाटै आउने भएकाले यो क्षेत्र युद्धको प्रत्यक्ष मारमा परेको हो। इन्धन अभावले गर्दा यी देशहरूको जनजीवन र अर्थतन्त्रमा गम्भीर असर पर्न थालेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय