राज्यको सर्वांगीण विकासका लागि युवालाई अवसर प्रदान गर्ने नीति आवश्यक: राष्ट्रपति पौडेल

२०८१ श्रावण २८, सोमबार १६:२५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको सर्वाङ्गिण विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको बताएका छन् ।

राजधानीमा सोमवार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित युवा सम्मेलन, २०२४ लाई सम्वोधन गर्दै राष्ट्रपति पौडेलले संघीयता, सूचना प्रविधिको विकास तथा बदलिदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी नयाँ नीतिको आवश्यकता रहेको स्पष्ट पारे ।

उनले भने ‘राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको पूर्ण उपयोगको वातावरण सिर्जना गरी युवाको सशक्तिकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, प्रतिनिधित्व, खेलकुद तथा मनोरञ्जन लगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्न जरुरी छ ।’

युवा जनशक्तिको कुरा गर्दा दिनानुदिन विदेश पलायन भैरहेको शक्तिलाई नेपालमै रोकेर राष्ट्र निर्माणमा कसरी प्रयोग गर्ने भन्ने कुरा आज धेरै गम्भिर बनेर आएको बताउँदै उनले हामीसँग यति धेरै प्राकृतिक संभावनाहरु छन्, तीनलाई समुचित ढंगले उपयोगमा ल्याउन सके नेपालले समृद्धिका लागि कतै भौतारिन नपर्ने बताए ।

उनले भने, “यसका लागि हाम्रा स्रोत र संभावना अनुरुपको सीप र लगनशीलताको निर्माण र राष्ट्रका संभावनाप्रति सकारात्मक सोच र देशभक्ति अनुकुल स्वाभिमानी र स्वावलम्बी भावनाको विकास आजको अनिवार्य आवश्यकता हो,”

राष्ट्रपति पौडेलले परिवर्तित विश्व परिवेश, विज्ञान प्रविधिमा आएको नविनतम विकासको सन्दर्भमा युवासम्बद्ध समस्या तथा चुनौतीहरूलाई सम्बोधन गर्न आवश्यक रहेको बताए ।

उनले २०७८ को जनगणना अनुसार, नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको युवा जनसङ्ख्या कुल जनसङ्ख्याको ४२.५६ प्रतिशत रहेको बताउदै उम्दा जनशक्तिको प्रचुरताको यो ऐतिहासिक क्षणलाई समाज रुपान्तरणको माध्यम बनाउन युवाको सर्वाङ्गीण विकास गरी क्षमताको गुणात्मक बढोत्तरीबाट जनसांख्यिक लाभ लिई राष्ट्र निर्माणको मूलधारमा ल्याउन आवश्यक रहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय