किन अनिवार्य भयो राष्ट्रिय परिचयपत्र ?

२०८२ बैशाख ३०, मंगलवार १६:३१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य रुपमा लागु गरेपछि राष्ट्रिय परिचयपत्र बनाउनेको भिड नै लाग्ने गरेको छ । तर धेरैलाई थाहा नहुन पनि सक्छ राष्ट्रिय परिचयपत्रको काम के हो भनेर । नागरिकता, भोटिङ कार्ड तथा ड्राईभिङ लाईसेन्स जस्ता परिचय पत्र हुदाँहुदै पनि किन राष्ट्रिय परिचयपत्र नै चाहियो ? यसबारे प्रश्न धेरै उठ्ने गरेको थियो ।

आखीर के हो त राष्ट्रिय परिचयपत्र भनेको ?
राष्ट्रिय परिचयपत्र भनेको नागरिकहरुको वैयक्तिक (Demographic) तथा जैविक (Biometric) विवरण समावेश भएको विद्युतीय चिप्स र सुरक्षण सहितको स्मार्ट कार्ड प्रविधिमा आधारित राष्ट्रिय पहिचानको बहुउपयोगी परिचयपत्र हो । परिचयपत्र लागु भएपछि नेपाल राज्यबाट प्रदान गरिने कुनैपनि सेवा सुविधा प्राप्त गर्न वा त्यस्तो सेवा सुविधाको माग गर्दा परिचयपत्र पेश गर्नुपर्ने हन्छ । साथै यसलाई सार्वजनिक सेवा प्राप्तिको मुख्य आधार तथा व्यक्तिको पहिचानको प्रमाणको रुपमा मान्यता दिइने भएकाले राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक छ ।

नेपाली नागरिकता प्राप्त व्यक्तिले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेवसाइट https://enrollment.donidcr.gov.np मा रहेको राष्ट्रिय परिचयपत्र अनलाइन आवेदनमा गइ त्यहाँ दिइएको निर्देशन अनुसार फाराम भरेर जिल्ला प्रशासन कार्यालय वा राष्ट्रिय परिचयपत्र विवरण दर्ता स्टेशन रहेका इलाका प्रशासन कार्यालय र वडा कार्यालयमा गई विवरण दर्ता गराउनुपर्छ । यसरी विवरण संकलन पछि राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिन्छ।

राष्ट्रिय परिचयपत्र बनाउनका लागि नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, बसाई सराई गरेको हकमा बसाई सराईको सक्कल प्रमाणपत्र (नागरिकतामा उल्लेख भएको स्थायी ठेगाना भन्दा फरक ठेगाना भएमा) विवाहितको हकमा नागरिकतामा पति वा पत्नीको नाम खुलेको भएमा सोहि प्रमाणपत्र अन्यथा विवाह दर्ता, विवाह प्रमाणित र नाता प्रमाणितको सक्कल प्रमाणपत्र ,नागरिकताको प्रमाणपत्रमा जन्ममिति नखुलेको हकमा जन्ममिति खुल्ने आधिकारीक प्रमाण (जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, राहदानी, पेन्सन पट्टा) लगाएतका विवरण पुष्टि हुने कागजातहरु आवश्यक पर्छ ।

राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित कुनै समस्या आएमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको कल सेन्टरको फोन नं 01-5970449 मा सम्पर्क गरेर पनि जानकारी लिन सकिने विभागले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय