काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकार परिवर्तनको हल्ला सुनेर आफै अचम्ममा परेको बताएकी छन् । यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच टेलिफोन कुराकानी समेत भएको उनले जानकारी दिईन् ।
थाइल्याण्डको बैंककबाट आज स्वदेश फर्किएकी मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुले सरकार परिवर्तनको हल्लाबारे सोधेका थिए ।
सो जिज्ञासामा उनले मनोरञ्जनका लागि हल्ला चलाइएको बताइन् । सरकार परिवर्तनबारे आएका समाचार हेरेर छक्क परेको उनले बताइन् । उनले थपिन्, ‘सरकार परिवर्तन त नेपालभित्रै बसेर गर्ने होला । विदेशमा गएर त यहाँको सरकार परिवर्तन हुँदैन ।’
सरकारका विषयमा विहीबार बेलुका कांग्रेस सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुराकानी पनि भएको आरजुले जानकारी दिइन् । ‘बेलुका सभापतिज्यू र प्रधानमन्त्री ज्यूको कुराकानी पनि भाको छ, त्यस्तो केही पनि छैन,’ उनले भनिन्, ‘फोनमा कुरा भयो ।’
देउवा र आरजु सँगै बैंकक गएका थिए । उनीहरु दुवै जना आज स्वदेश फर्किएका छन् ।




