काठमाडौं । सरकारले अबको एक महिना भित्र निर्माण व्यवसायीहरूको पुरानो बक्यौता भुक्तानी गर्ने बताएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटको अवसरमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माण व्यवसायीको रकम एक महिनाभित्र भुक्तानी हुने जानकारी दिएका हुन् ।
उनले निर्माण व्यवसायीहरूलाई पुराना आयोजनाहरूको रकम भुक्तानी नहुँदा पूर्वाधार निर्माणको कामले तिव्रता पाउन नसकेको भन्दै पुरानो रकम भुक्तानी गरेपछि निर्माणको कामले पनि तिव्रता पाउने विश्वास समेत व्यक्त गरे । मन्त्री दाहालले राजश्व संकलनमा कमी आएका कारण पुराना योजनाहरूको भुक्तानीमा केही समस्या भएको स्वीकार गरे ।
उनले प्रधानमन्त्री र अर्थमन्त्रीबाटै पुरानो बक्यौता भुक्तानीको लागि प्रतिबद्धता आएकोले एक महिना भित्र समस्या समाधान हुने बताए।




