काठमाडौं । अमेरिकामा बेपत्ता नेपाली नर्स ममता काफ्लेकी आमा गीता र ममताका दाजु भर्जिनिया पुगेका छन् । काफ्लेको मृत शरीर लुकाएको आरोपमा उनका श्रीमान् नरेश भट्ट थुनामा छन् । उनकी १ वर्षकी छोरी संस्थाको संरक्षणमा रहेकोले उनको रेखदेख गर्नका लागि काफ्लेको माइती पक्षले अमेरिका जान अनुमति माग गरेको थियो ।
ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् भने घरमा भारी मात्रामा रगत बगेकोसहितका तथ्यहरु फेला परेपछि मनसास पार्क प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो । लगत्तै काफ्लेको माइती पक्षले नेपालस्थित अमेरिकी दूतावासका अधिकारीहरुसँग समेत भेट गरेका थिए । त्यसपछि उनीहरुले अमेरिका जाने प्रक्रिया थालेका थिए ।
भिसा लगायतका प्रक्रिया पूरा भएपछि गएको मंगलबार राति उनीहरु त्यसतर्फ गएको मामा सहकुलप्रसाद तिम्सिनाले बताए । १२ कक्षा सकेपछि बैंग्लोरमा नर्सिङ पढिरहेका बेला सामाजिक सञ्जालमार्फत उनको कञ्चनपुरका नरेश भट्टसँग चिनजान भएको थियो । पछि उनीहरु प्रेम सम्बन्धमा जोडए, त्यसपछि २०७७ सालमा पनौतीमा धुमधामसँग नरेश र ममताबीच विवाह भएको थियो ।




