नबिल बैंकको सहायक कम्पनी नबिल स्टक डिलर सञ्चालनमा

२०८० मंसिर ३०, शनिबार १७:१५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल स्टक डिलर लिमिटेड औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ।

शुक्रबार काठमाडौंमा आयोजित उद्घाटन कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य, नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल लगायतको उपस्थितिमा डिलरको औपचारिक उद्घाटन गरिएको हो।

पुँजी बजारसम्बन्धी नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष हमालले धितोपत्र व्यापारीको रूपमा नबिल स्टक डिलरले आफ्नो गतिविधि सञ्चालनले पुँजी बजारको गुणात्मक विकासमा सहयोग पुग्ने अपेक्षा राखेको बताए। हमालले पुँजी बजारको विकासमा यो पहल एक उदाहरणीय डिलरको रूपमा साबित हुने विश्वास व्यक्त गरे। बैंकहरूको सहायक कम्पनीहरूलाई धितोपत्र व्यवसायीको अनुमति दिने कार्य ऐतिहासिक भएको र यसले समग्र पुँजी बजार विकासमा नयाँ आयाम थपेको उनले बताए।

नबिल बैंकले नेपालको पुँजी बजारमा नयाँ आयाम थप्ने उद्देश्यका साथ आफ्नो पूर्ण स्वामित्वको सहायक कम्पनीको रूपमा नबिल स्टक डिलर कम्पनी खडा गरेको पौड्यालले बताए। कार्यक्रममा सिडिएससीका प्रमुख कार्यकारी अधिकृत आचार्यले पुँजी बजारको विकासमा नबिल डिलरको उल्लेखनीय भूमिका निभाउन सक्ने विश्वास व्यक्त गरे।

नबिल स्टक डिलरका अध्यक्ष निरज गिरिले नबिल स्टक डिलरले नेपालको पुँजी बजारमा पृथक पहिचान कायम गर्ने बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार