काठमाडौँ । नेपाल प्राइम कमर्सियल बैकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सञ्जीव मानन्धर नियुक्त भएका छन् ।
बुधबार बैंकको तर्फबाट कम्पनी सचिव राजकुमार कार्कीले एक विज्ञप्ति जारी गर्दै स्थापनाकालदेखि बैंकको प्रमुख कार्यकारी अधिकृतकारुपमा व्यवस्थापकीय नेतृत्वमा रहेका नारायणदास मानन्धरको कार्यकाल सकिएकोले सञ्जीवलाई कामु कार्यकारी अधिकृतमा नियुक्त गरेको उल्लेख गरिएको छ । यस अघि कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ ।
सञ्जीव मानन्धर स्थापनाकालदेखि नै प्राइम बैंकको महाप्रबन्धकका रुपमा कार्यरत थिए । कायममुकायम प्रमुख कार्यकारी अधिकृत मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा लामो अनुभव छ । तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंक लि.बाट बैंकिङ क्यारियर शुरु गरेका चार्टर्ड एकाउण्टेण्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंक लि.को विदेशी व्यवस्थापनसँग आवद्ध रही कार्य गरिसकेका छन् ।
अवकाशप्राप्त नारायणदास मानन्धर विगत १६ वर्षदेखि प्राइम बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए । विदाई कार्यक्रममा बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले यस बैंकलाई नयाँ उँचाईमा पु¥याउन नारायणदास मानन्धरको उल्लेख्य भूमिका रहेको बताए ।





