काठमाडौँ । सर्वसाधारण लगानीकर्ताहरूका लागि आइएमई लाइफ इन्स्योरेन्सको आइपिओ आज (बिहीबार) देखि निष्कासन तथा बिक्री खुला भएको छ। यसअघि कम्पनीले असार २० गतेदेखि आइपीओ खुला गर्ने भनेकोमा प्राविधिक कारण देखाउँदै असार २१ गतेबाट आवेदन खुला गरेको हो।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि प्रिमियम मूल्यमा आइपिओ निष्कासन तथा बिक्री खुला गरेको हो। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम बापत १३६ रुपैयाँ ९१ पैसा थप गरी प्रतिसेयर कुल २३६ रुपैयाँ ९१ पैसामा सेयर निष्कासन गरेको हो। निष्कासन गरिने कुल सेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ।
बाँकी रहेको ९६ लाख कित्ता सेयर कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरेको हो। कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। उक्त आइपिओमा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो सेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन्।





