काठमाडौँ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मातृभाषामा गरिने पत्रकारिताले अभिव्यक्ति स्वतन्त्रता र संघीयतालाई बलियो बनाउने बताएका छन् । बिहीबार नेवाः पत्रकार राष्ट्रिय दबूको प्रतिवेदन बुझ्दै उनले बताए। दबूले गत जेठमा आयोजना गरेको ‘अन्तरराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’ को निष्कर्ष र सुझावलाई कानुन निर्माणमा समेट्न आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता सभामुख घिमिरेले जनाए।
नेपालका प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यले पत्रकारिता सुरु गरेको १०० वर्ष पुगेको अवसरमा दबूले उक्त सम्मेलन आयोजना गरेको थियो। सम्मेलनमा नेपाल, भारत र बंगलादेशका पत्रकारहरूको सहभागिता थियो। दबूले विगत १३ वर्षदेखि नेपालमा समावेशी सञ्चार र मातृभाषा पत्रकारिताको विकासका लागि वकालत गर्दै आएको छ।





