काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो त्याग र बलिदानबाट प्राप्त गणतन्त्रले महिला, दलित, आदिवासी जनजाति तथा पछाडि पारिएका वर्गको हक अधिकार स्थापित गरेको बताएका छन् । काठमाडौंमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल एक तुलनात्मक अध्ययन’ नामक पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गणतन्त्रले सीमान्तकृत समुदायलाई राज्यको मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताए। “जुनसुकै दलका भए पनि महिलाहरू उच्च पदमा आउँदा मलाई गर्व लाग्छ, यसले हाम्रो विद्रोहको औचित्य प्रमाणित भएको छ,” उनले भने।
लामो सङ्घर्ष तथा सहिदहरूको बलिदानकै कारण मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरण गर्दै उनले यस व्यवस्थाले पछाडि परेका वर्गलाई अगाडि बढ्न महत्वपूर्ण अवसर प्रदान गरेको उल्लेख गरे। अध्यक्ष दाहालले देशको सफलताका लागि सबै जाति, भाषा, धर्म, संस्कृति र इतिहासप्रति सम्मान हुनुपर्नेमा जोड दिए। उनले पछिल्लो समय देशमा केही पनि राम्रो भएको छैन र देश छाड्नुपर्छ भन्ने जस्ता भ्रम छर्ने प्रवृत्ति बढेको भन्दै यस्ता निराशाहरु विरुद्ध प्रतिवाद गर्ने औजारका रूपमा पुस्तक सार्वजनिक भएको टिप्पणी गरेका छन्।





