राष्ट्रपति पौडेलसँग भारतका विदेशमन्त्री एस जयशंकरको शिष्टाचार भेटवार्ता, के-के भयो कुराकानी?

२०८० पुष १९, बिहीबार १२:४३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन् । विदेशमन्त्री एस जयशंकरले बिहीबार विहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँंग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन जयशंकर बिहीबार विहान काठमाडौंको त्रिभुवन विमानस्थलमा १० बजे आइपुगेका थिए । भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तनका कारण परेको असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भिरतापूर्वक काम गर्न जरुरी रहेकोमा जोड दिएका थिए ।

पौडेलले कृषि, उर्जा शक्ति, पर्यटनको विकास र मानव संसाधन विकास नेपालको प्राथमिकतामा भएको र यसमा सहकार्यका लागि जयशंकरसँग आग्रह पनि गरेका छन् । विदेशमन्त्री जयशंकरले नेपालका संभावनाप्रति भारत जानकार रहेको बताउँदै सबै क्षेत्रहरूमा भारतको निरन्तर सहयोग रहने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार