‘सहीदलाई सम्झिने वातावरण बनेन’

२०८० पुष १४, शनिबार १७:२४ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारले सहिदलाई सम्झिने वातावरण सिर्जना गर्न नसकेको बताएका छन् । शनिबार राजधानीमा आयोजित सहीद हरि नेपालको ४४ औं स्मृति सभामा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘हरि नेपालको योगदानले गर्दा आज देशमा यो राजनीतिक अवस्था प्राप्त भएको छ । आज यो बाटोमा हामीले श्रद्धा व्यक्त गरिरहेका छांै । अहिले देशमा हामी जुन प्रणालीअन्तर्गत शासन गरिरहेका छौं, जस्तो खालको सरकार छ, यसले सहीदहरुको स्मृतिमा नीजि क्षेत्रबाट उहाँका सहयोगीहरु प्रयत्न गरेर मात्रै होइन सिंगो राष्ट्रले यो अवस्था ल्याउन योगदान गर्ने सहिदहरुलाई सम्झिने वातावरण बनाउनुपर्ने थियो ।’

सहीदका विषयमा सरकार जिम्मेवार हुनुपर्ने उनले बताए । सहीदको नाममा के काम गरिएको छ, के योजना बनेका छन् त्यो कसले बनाउने हो, कहिले बनाउने भन्ने प्रश्न गर्दै उनले यसरी हेर्दा यस्ता कामहरुमा ध्यान नगएको पनि बताए । उनले भने, ‘हरि नेपालको योगदानले समाजको अभाव, गरिबी र अवसरको समस्या हल गरेर अगाडि बढ्ने बाटोमा राज्यले भूमिका निर्वाह गर्नुपर्छ । पार्टीहरुको दायित्व हुनुपर्छ र यो प्रणालीलाई मजबुत बनाउने समय आएको छ, यही समयमा सहदिहरुलाई सम्झिएर प्रतिकूलताहरुलाई चिर्ने र सकारात्मक काम गर्ने कुरामा यो प्रतिष्ठानले सफलता हासिल गरोस् ।’

यस्तै, उक्त कार्यक्रममा एमाले सांसद योगेश भट्टराईले समाजमा केही असन्तुष्टि, आक्रोसहरु पैदा भएको बताए । ‘त्यसलाई मैले अन्यथा मान्दिन्, किनभने आजको व्यवस्थाको चरित्र नै त्यही हो । आफ्नो विचार राख्न पाइन्छ त्यसकारणले नै हामीले यो व्यवस्था ल्याएका हौं,’ उनले भने, ‘यदि यो व्यवस्थामा बस्ने चालक गलत छन् भने चालक फेर्न पाइन्छ । अहिलेको व्यवस्थामा हरेक मानिसले आफ्नो असन्तुष्टिहरु प्रकट गरेको छ त्यसलाई सम्मान गर्नुपर्छ । यो व्यवस्थाको विशेषता पनि हो ।’

प्रत्येक राजनीतिक व्यवस्थाले कमजोरी केलाउँदै हटाएर अघि बढ्नुपर्ने उनको भनाइ छ । ‘हामीले इतिहास बिर्सिनु हुँदैन, कमी कमजोरी त होलान् व्यक्ति, पार्टी, विचारमा तर त्यसलाई निन्दा गर्ने होइन, रुपान्तरण गर्दै अगाडि बढ्ने हो,’ उनले भने, ‘देश बनाउने व्यक्तिमा पनि कमि कमजोरी हुन्छ, त्यसलाई स्वीकार गरेर जाने हो भने हामी सही स्थानमा पुग्न सक्छांै ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार