काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई जनतासँग नङ् र मासु जसरी जोडिएको पार्टीका रुपमा विकास गर्ने बताएका छन् । ललितपुरमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधनगर्दै उनले यस्तो बताएका हुन् ।
जनताबाट टाढिने हो भने अस्वीकृत हुनुपर्ने अवस्था आउने भन्दै उनले भने, ‘जनतासँग नङ् र मासु जसरी जोडिएको पार्टीको रुपमा पार्टीलाई विकास गर्न चाहन्छु । पार्टीमा हुनुपर्ने विशेषताको सन्दर्भमा जनतासँग नजिकीने विचार आएको हो । जनताबाट टाढिने हो भने जनताले अस्वीकार गर्छन् । त्यो भनेको निर्वाचनमा भोट नहाल्नु हो ।’ चुनौतीका बीचमा आफूहरु अलग रुपमा आएको भन्दै नेपालले भने, ‘हाम्रो पार्टीलाई कमजोर नठान्नु, चुनौतीको बीचमा हामी आएका छौं र सातैवटा प्रदेशमा हाम्रो राम्रो उपस्थिति छ ।’
जनताको बीचमा नजानु र पदका लागि बाझ्नु तर पदअनुसार जिम्मेवारी पूरा नगर्नु जस्ता कमजोरी पार्टी र नेताहरुको हाम्रो सबैभन्दा ठूलो समस्या भएको उनले बताए । कम्युनिष्ट पार्टी २००६ सालमा स्थापित भएको उल्ल्ेख गर्दै नेपालले त्यसको उत्तराधिकारी आफूहरु भएको दाबी गरे । ‘विभिन्न बेलामा यस्ता समस्याहरु आएका छन्, जतिखेर हामीले नयाँ क्रान्तिकारी धारलाई समात्दै भइरहेको पार्टीबाट विद्रोह गरेर नयाँ पार्टी बनाउन परेको थियो’ उनले भने ।
प्रतिक्रियावाद, राजतन्त्र, पञ्चायती तानाशाहीको विरुद्धमा संघर्षको अग्रपङ्तिमा उभिएर महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यस्तो भूमिकाको कारणले राष्ट्रिय राजनीतिमा आफूहरुको छुट्टै पहिचान स्थापित भएको बताए । उनले भने, ‘अरुलाई पनि हामीले आफूमा समेट्दै गयौं, यही क्रममा २०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा मार्क्सवादीहरुको बीचमा एकता भएर नेकपा एमाले बनायौं । राष्ट्रिय राजनीतिमा त्यसले तरङ्ग पैदा गर्यो, भूमिका प्रभावकारी पनि भयो ।’
सरकारले जनताले चाहे अनुसारको परिणाम दिन नसकिरहेको भन्दै नेपालले त्यसको कारण खोजेर सुधारमा लाग्नु पर्नेमा जोड दिए ।‘यसमा प्रधानमन्त्रीले नयाँ तरिकाले जानको लागि आवश्यक काम गर्न तयार छु भन्नु भएको छ’ उनले भने, ‘गर्नुहोस् हाम्रो शुभकामना छ र सहयोग पनि रहने छ ।’





