काठमाडौँ । पूर्वमन्त्री बद्री न्यौपानेले आफ्नो राजनीति सिध्याउने गरी विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्ने काम भएको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आफूले कुनै गल्ती नगरेपनि पूर्वाग्रही ढंगले फैसला गर्ने काम गरेको बताए ।
उनले आफू चुरेभावरको लामो राजनीतिमा रहेको र कुनै आर्जन नगरेको उल्लेख गर्दै आफूसँग कुनै सम्पत्ति नभएको बताए । पत्रकार सम्मेलनका बीचमा धरधरी रोएका उनले आफूले गल्ती नगरेको दोहोर्याए । उनले भने, ‘म एउटा राष्ट्र र जनताको लागि चुरेभावर भएर राजनीतिमा आउँदा मैले एक रुपैयाँ खाएको भए, मेरो बैंक ब्यालेन्स हेरियोस्, मेरो जग्गा हेरियोस् । मेरो केही रहेछ भने तपाईँहरुले मलाई सजाय दिनुहोस् । होइन भने भन्न सक्ने अवस्था नरहेको पनि बताए ।
उनले आफूसँग पैसा नभएको जिकिर गर्दै मुद्दाको पुनरावेदन गर्न सक्ने अवस्था नरहेको पनि बताए । भृकुटीमण्डप फनपार्कको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको अभियोगमा उनलाई अदालतले ९ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो ।





