काठमाडौं । स्याङ्जाको पुतलीबजारमा जारी प्रथम खुमा अर्याल कप टी-२० क्रिकेट प्रतियोगितामा चापाकोट नगरपालिका र हरिनाश गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेका छन्। योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
आइतबार भएको खेलमा चापाकोटले बिरुवा गाउँपालिकालाई २२४ रनको विशाल अन्तरले पराजित गर्यो। चापाकोटका लागि कप्तान विशाल कोइरालाले विस्फोटक ब्याटिङ गर्दै ३७ बलमा ९७ रन बनाए। २४४ रनको लक्ष्य पछ्याएको बिरुवा १९ रनमै समेटिएको थियो।
अर्को खेलमा हरिनाशले अर्जुनचौपारी गाउँपालिकालाई ८ विकेटले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो। अर्जुनचौपारीले दिएको ९९ रनको लक्ष्य हरिनाशले १०.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
अब सोमबार हुने सेमिफाइनल खेलमा चापाकोटले गल्याङसँग र वालिङले हरिनाशसँग प्रतिस्पर्धा गर्नेछन्। वालिङ र गल्याङ यसअघि नै सेमिफाइनलमा पुगिसकेका थिए।





