६ हजार ४९४ कैदीबन्दी अझै आएनन् सम्पर्कमा

२०८२ आश्विन १०, शुक्रबार १२:४१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । जेनजीको आन्दोलनपछि विभिन्न कारागारबाट भागेका ६ हजार ४९४ कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन्। देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना कारागारमा फर्किएका छन्।

कारागार व्यवस्थापन विभागका अनुसार फर्किएकामध्ये कारागारबाट भागेका सात हजार ७१३ र सुधारगृहबाट भागेका ३४१ जना छन्।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कतिपय आफैँ आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याएको हो। उनका अनुसार अझै छ हजार ४९४ कैदीबन्दी फरार छन् ।

फरार हुनेमा कारागारबाट भागेका पाँच हजार ८७२ र सुधारगृहबाट भागेका ६२२ जना रहेका छन्। उनीहरूको खोजी जारी रहेको न्यौपानेले बताए।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारबाट १३ हजार ५८५ र सुधारगृहबाट ९६४ कैदीबन्दी भागेका थिए।

योबीचमा १० कैदीबन्दीको भने मृत्यु भएको छ । कुल ३० हजार ६४६ कैदीबन्दी रहेकामा हाल २३ हजार ४४६ जना छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार