प्रधानमन्त्री कार्कीको नियुक्तिसँगै मुलुकमा राजनीतिक अन्योल घट्दै, जनजीवन सामान्यीकरणतर्फ

२०८२ भाद्र २८, शनिबार ०९:४४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएसँगै मुलुकमा देखिएको राजनीतिक अन्योल क्रमशः हट्न थालेको छ। पछिल्ला दिनमा अराजक र हिंसात्मक प्रदर्शनले अस्तव्यस्त बनेको जनजीवन बिस्तारै सामान्यतर्फ फर्किएको छ।
मङ्गलबारको प्रदर्शनपछि नेपाली सेनाले देशभर कर्फ्यु र निषेधाज्ञा लागू गरेको थियो। तर, अब स्थानीय प्रशासनलाई आवश्यकता अनुसार मात्र निर्णय गर्ने अधिकार दिइएपछि कतिपय क्षेत्रमा कर्फ्यु हटाइएको छ।
सैनिक जनसम्पर्क निर्देशनालयले काठमाडौँ उपत्यकामा हिजो बेलुकी ७ बजेदेखि आज बिहान ६ बजेसम्म कर्फ्यु घोषणा गरेको थियो। त्यसपछि थप निर्णय नभएपछि आज काठमाडौँमा कर्फ्यु वा निषेधाज्ञा लागू गरिएको छैन।
यद्यपि, ललितपुर र भक्तपुर प्रशासनले भने बिहान ११ बजेदेखि दिउँसो ५ बजेसम्म निषेधाज्ञा र बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु जारी गर्ने निर्णय गरेका छन्। देशका अन्य केही जिल्लामा पनि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कर्फ्यु र निषेधाज्ञाले निरन्तरता पाएको छ।
यद्यपि, धेरै ठाउँमा दैनिक जीवन सामान्यतर्फ फर्किएको छ। लामोदूरीका गाडी सञ्चालन हुन थालेका छन् भने काठमाडौँ उपत्यकामा पनि सार्वजनिक यातायात आंशिक रूपमा चल्न थालेको छ। यसले गर्दा सर्वसाधारणलाई केही राहत मिलेको छ। नयाँ सरकार गठनसँगै मुलुकमा शान्ति र स्थिरता कायम हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार