तनहुँमा एकै दिन दुई महिला मृतावस्थामा फेला, सनाखत हुन सकेन

२०८२ भाद्र २७, शुक्रबार १४:२७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । तनहुँ जिल्लामा बिहीबार दुई छुट्टाछुट्टै स्थानमा दुई महिला मृतावस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार सेती नदी र बुल्दीखोलामा ती शवहरू फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार व्यास नगरपालिका–३ देउरालीनगरस्थित सेती नदीमा अन्दाजी ५५–६० वर्षीया एक वृद्धाको शव फेला परेको छ। स्थानीयवासीले खबर गरेपछि पुगेको प्रहरी टोलीले शवको मुचुल्का गरी परीक्षणका लागि प्रदेश अस्पताल दमौली पठाएको छ। हालसम्म शवको सनाखत हुन सकेको छैन र परिवार तथा आफन्तबारे जानकारी खुल्न सकेको छैन।
त्यसैगरी, व्यास नगरपालिका–१ तालघरेस्थित बुल्दीखोलामा पनि अर्की एक महिलाको शव फेला परेको छ। डिहीगाउँ जाने पक्की पुलमुनि पानीमा डुबिरहेको अवस्थामा अन्दाजी ३०–३५ वर्षीया ती महिलाको शव फेला परेको हो। तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक थापाले दुवै शवको सनाखत गर्ने कार्य भइरहेको र थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार