काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता वामदेव गौतमले आफू पार्टी प्रवेश गरेको दुई महिना बितिसक्दा पनि कुनै ठोस जिम्मेवारी नपाएको गुनासो गरेका छन्। पार्टी स्थापनाको चौथो वर्षगाँठको अवसरमा सोमबार आलोकनगरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले अध्यक्ष माधवकुमार नेपालसमक्ष औपचारिक रूपमै जिम्मेवारी माग गरेका हुन्। अध्यक्ष नेपालकै उपस्थितिमा उनले भने, “दुई महिना कट्न लागेको छ, अहिले मेरो जिम्मेवारी विभागहरूको संयोजक किसिमको छ। म हरेक दिन पार्टी अफिसमा आउँछु।”
उनले आफूलाई अब पार्टी छाडेर अन्यत्र जाने छुट नभएको पनि स्पष्ट पारे। विगतमा आफूमाथि लाग्ने गरेको आरोपप्रति लक्षित गर्दै उनले भने, “खुट्टा एक ठाउँमा टेकेको छैन, अर्कातिर जान खुट्टा उठाइसकेको छ भन्छन्। अहिले त्यो भन्न दिनेवाला म छैन।”
नेता गौतमले पार्टीका नेताहरू काठमाडौंमै सीमित भएको भन्दै आलोचना गरे र आफू जनतामाझ जान तयार रहेको बताए। “अब एकीकृत समाजवादीका नेताहरू जनताका बीचमा हुनेछन्,” उनले भने।
पार्टीभित्र ‘नक्कली कम्युनिस्ट’ बन्ने प्रवृत्तिबाट सचेत रहनुपर्ने भन्दै गौतमले तल्लो तहसम्म जानुपर्ने आवश्यकता दोहोर्याए। “म नै जानुपर्छ कि भन्ने लागेको हो। मसँग एउटा नेता त पक्कै हुनुहुन्छ,” उनले थपे।





