कुवेतमा विषाक्त मदिराले १२ नेपालीको मृत्यु, ४ जनाको शव नेपाल ल्याइयो

२०८२ भाद्र ४, बुधबार १६:०८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु भएका १२ जना नेपालीमध्ये चार जनाको शव नेपाल ल्याइएको छ। कुवेतस्थित नेपाली दूतावासका अनुसार ती शव परिवारलाई बुझाइएको छ भने थप एक जनाको शव बुधबार नेपाल पठाउने तयारी भइरहेको छ।
दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार, गत साता केही दिनको अन्तरालमा अवैध रूपमा उत्पादित विषाक्त मदिरा सेवन गर्दा १२ नेपाली श्रमिकको दुःखद निधन भएको हो। बाँकी सात जनाको शव पठाउने प्रक्रिया पनि सुरु भइसकेको उनले जानकारी दिए।
यसैगरी, मदिरा सेवनबाट बिरामी परेका १५ जना नेपाली कामदार कुवेतका विभिन्न अस्पतालमा उपचाररत छन्। तीमध्ये १२ जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ।
कुवेतमा मदिराको बिक्री-वितरण र सेवनमा कडा प्रतिबन्ध छ, तर लुकीछिपी भइरहेको अवैध कारोबारका कारण नेपाली कामदारहरू यस्ता दुःखद घटनाको सिकार हुने गरेका छन्। सो घटनामा संलग्न भएको आशंकामा केही नेपालीहरू पक्राउ परेको समाचारसमेत बाहिर आएको छ।
यसैबीच, मंगलबारको प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कुवेतमा भएको नेपाली कामदारको मृत्युबारे सरकारको ध्यानाकर्षण गराउँदै घटनाबारे स्पष्ट जानकारी दिन माग गरेका छन्।
हाल कुवेतमा करिब १ लाख ३० हजार नेपाली कार्यरत रहेको अनुमान छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार