गण्डकीमा प्राविधिक शिक्षालय बनाउन कोरियाको १ अर्ब २५ करोड अनुदान सहयोग, सम्झौतामा हस्ताक्षर

२०८२ भाद्र ४, बुधबार १३:४९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाल सरकार र कोरिया गणतन्त्रबीच गण्डकी प्रदेशमा प्राविधिक शिक्षालयको पूर्वाधार विकासका लागि करिब १ अर्ब २५ करोड रुपैयाँ (९ मिलियन अमेरिकी डलर) बराबरको अनुदान सम्झौता भएको छ । दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित बुधबार उक्त सम्झौतामा हस्ताक्षर भएको हो । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपाल सरकारको तर्फबाट अर्थसचिव घनश्याम उपाध्याय र कोरिया गणतन्त्रको तर्फबाट नेपालका लागि राजदूत पार्क ते–यङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता समारोहमा बोल्दै राजदूत पार्कले यो लगानी भवन र पूर्वाधारमा मात्र नभई मानव संसाधन, सीप र नेपालको भविष्यका लागि जनशक्ति निर्माणमा केन्द्रित रहेको बताउनुभयो । उहाँले यस परियोजनामार्फत नेपालको क्षमता अभिवृद्धि गरी गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्ने लक्ष्य राखिएको उल्लेख गरे।
अर्थसचिव उपाध्यायले कोरियाले लामो समयदेखि नेपालको शिक्षा क्षेत्रलाई सहयोग गर्दै आएको स्मरण गर्दै यो सम्झौताले नेपालको विकासप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको बताउनुभयो । उहाँले यस पहलले श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गरी रोजगारीका अवसर बढाउने र देशको सामाजिक–आर्थिक विकासमा महत्त्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।
अर्थ मन्त्रालयका अनुसार, परियोजनाको कार्यान्वयन कोरिया सरकारको तर्फबाट कोरियन इन्टरनेशनल को–अपरेशन एजेन्सी (कोइका) ले गर्नेछ भने नेपाल सरकारको तर्फबाट गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम प्रतिष्ठान रहनेछन् ।
सन् २०३० डिसेम्बर ३१ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यस परियोजनाको मुख्य उद्देश्य नेपालको प्राविधिक तथा व्यवसायीक शिक्षा नीति र सोह्रौँ योजनासँग मेल खाने गरी २१औँ शताब्दीका लागि आवश्यक सक्षम र दक्ष जनशक्ति उत्पादन गर्नु रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार