दैलेख। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा तीजको नाच हेरेर घर फर्किँदै गरेकी एक १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको दर्दनाक घटना सार्वजनिक भएको छ। घटनामा संलग्न भएको अभियोगमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार, साउन २२ गते साँझ पीडित बालिका ४-५ जनाको समूहमा तीजको नाच हेरेर घर फर्किँदै थिइन्। सोही क्रममा चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारीले उनीहरूको पिछा गरेका थिए।
पिछा गरेको थाहा पाएपछि सँगै रहेका अन्य किशोरीहरू भागेर ज्यान जोगाउन सफल भए, तर पीडित बालिकालाई अभियुक्तहरूले ढुंगाले हानेर घाइते बनाई बलात्कार गरेर बेहोस अवस्थामा छाडेका थिए।
भागेर ज्यान जोगाएका किशोरीहरूले तत्काल घरमा खबर गरेपछि अभिभावकहरू घटनास्थल पुगेर बालिकाको उद्धार गरेका थिए।
पीडित बालिकाको हाल दैलेख अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको दाहिने हात मर्किएको छ भने गुप्ताङ्गमा चोट लागेको छ।
पीडित परिवारको जाहेरीका आधारमा प्रहरीले दुवै युवकलाई पक्राउ गरी जबरजस्ती करणी अभियोगमा अनुसन्धान अघि बढाएको छ।





