काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २३ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ।
कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै ती कम्पनीहरूलाई कालोसूचीमा राख्न नपर्ने कुनै कारण भए ३० दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
विभिन्न सरकारी निकायको सिफारिसमा सम्झौताअनुसार समयमै काम सम्पन्न नगर्ने तथा गुणस्तरहीन काम गर्ने कम्पनीहरूलाई कारबाहीको प्रक्रियामा लगिएको हो। तोकिएको समयभित्र चित्तबुझ्दो स्पष्टीकरण पेश नगर्ने कम्पनीहरूलाई सार्वजनिक खरिद ऐनअनुसार निश्चित अवधिका लागि कालोसूचीमा राखिने कार्यालयले जनाएको छ।






