काठमाडौं । वैदेशिक रोजगारीमा युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-१५ बस्ने म्याग्दी मंगला गाउँपालिका-४ घर भएका ३६ वर्षीय नर बहादुर बुढाथोकी र काठमाडौं टोखा नगरपालिका-२ बस्ने पाँचथर फिदिम नगरपालिका-१ घर भएका ४६ वर्षीय उमेश हिङमाङ रहेका छन् ।
उनिहरु मध्ये नर बहादुरले दुई जना पीडितहरूबाट १ लाख रुपैयाँ र उमेशले दुई जना पीडितहरूबाट ११ लाख ५९ हजार रुपैयाँ लिएको भन्ने उजुरीको आधारमा काठमाडौं अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।
नर बहादुरलाई काठमाडौं महानगरपालिका-११ बाट र उमेशलाई टोखा नगरपालिका-२ बाट पक्राउ गरेको छ । दुवैमाथि थप अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।





