ट्रम्पको नयाँ व्यापार युद्ध: औषधि, ट्रक र फर्निचरमा उच्च कर

२०८२ आश्विन १०, शुक्रबार १३:०७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधि, भारी ट्रक, घर नवीकरण सामग्री र फर्निचरमा उच्च कर लगाउने घोषणा गर्दै आफ्नो विश्वव्यापी व्यापार युद्धलाई पुनर्जीवित गरेका छन्। अक्टोबर १ देखि लागू हुने यो नीतिअनुसार अमेरिकामा उत्पादन नभएका ब्रान्डेड औषधिमा १०० प्रतिशत र अन्य देशमा बनेका सबै भारी ट्रकमा २५ प्रतिशत भन्सार शुल्क लाग्नेछ।
ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममार्फत घोषणा गर्दै औषधि कम्पनीहरूले अमेरिकाभित्र कारखाना निर्माण नगरेसम्म कर अनिवार्य हुने बताए। यस कदमको अस्ट्रेलियाले कडा आलोचना गरेको छ, जहाँका स्वास्थ्यमन्त्री मार्क बटलरले यसले अमेरिकी उपभोक्तालाई हानि पुर्‍याउने बताएका छन्।
युरोपका भोल्भो र डेमलर जस्ता ट्रक उत्पादक कम्पनीहरूको सेयर मूल्यमा तीव्र गिरावट आएको छ। ट्रम्पले यसलाई ुराष्ट्रिय सुरक्षाु सँग जोडेका छन्।
यसैगरी, घर नवीकरणका सामानहरू जस्तै किचन क्याबिनेट, बाथरुम भ्यानिटीमा ५० प्रतिशत र अपहोल्स्टर्ड फर्निचरमा ३० प्रतिशत कर लगाइनेछ। यसले आयातमा निर्भर वेफेयर र विलियम्स सोनोमा जस्ता खुद्रा कम्पनीहरूलाई असर गर्नेछ।
यी नयाँ भन्सार शुल्कहरूले अमेरिकी अर्थतन्त्रमा मुद्रास्फीतिको जोखिम बढाउने आशङ्का गरिएको छ। ट्रम्पले संरक्षणवादी अभियान चलाउँदै अमेरिकी उत्पादनलाई मजबुत बनाउन खोजेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार