काठमाडौं । नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु लिमिटेड नेपालकै ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा विराटनगर किङ्सको अफिसियल इन्टरनेट एक्सपिरियन्स पार्टनर बनेको छ ।
शुक्रबार आयोजित एक कार्यक्रमबीच सुबिसुका मार्केटिङ प्रमुख सुजन कृष्ण प्रधान र विराटनगर किङ्सका तर्फबाट म्याड ड्रिम्स स्पोर्टस प्रालिका निर्देशक राजेश बजरियाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेबाट सुरु हुँदैछ । एक महिनासम्म चल्ने यस प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ । “राष्ट्रिय टिमका खेलाडी सन्दिप लामेछाने, प्रतिश जिसीलगायतका खेलाडी समावेश विराटनगर किङ्ससँग इन्टरनेट एक्सपिरियन्स पार्टनरको रूपमा जोडिन पाउँदा हामी निकै उत्साहित छौँ,’ सुबिसुका मार्केटिङ प्रमुख सुजन कृष्ण प्रधान भन्छन्, “यो सहकार्यले नेपाली खेलकुदमा सुबिसुको निरन्तरत सहकार्य र प्रतिबद्धता दर्शाएको छ ।”
प्रधानले आगामी दिनमा समेत सुबिसु नेपालको खेलकुद विकास र विस्तारमा निरन्तर हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा विराटनगर किङ्सका तर्फबाट बजरियाले सुबिसु इन्टरनेटलाई अफिसियल इन्टरनेट एक्सपिरियन्स पार्टनरको रूपमा भित्र्याउन पाउँदा उत्साहित भएको बताए । उनले यो सहकार्यले नेपालको खेलकुद विकासमा सुबिसु जस्ता कम्पनीले देखाएको विश्वासले थप दृढ बनाएको छ ।





