काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली सूचना प्रविधि (आईटी) कम्पनीहरूलाई विदेशमा लगानी विस्तार गर्न सहज बनाउँदै २० हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही सुविधा निःसर्त उपलब्ध गराउने भएको छ । ‘विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा पाँचौँ संशोधन गर्दै राष्ट्र बैंकले यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
नयाँ व्यवस्थाअनुसार, सेवा निर्यात गर्ने आईटी तथा सफ्टवेयर कम्पनीले अब राष्ट्र बैंकको पूर्वस्वीकृति बिना नै तोकिएको सीमाभित्र रहेर विदेशमा लगानी गर्न वा शाखा खोल्नका लागि विदेशी मुद्रा सटही गर्न सक्नेछन् ।
संशोधित विनियमावलीले विदेशी लगानीकर्ताका लागि पनि प्रक्रिया सरल बनाएको छ । अब विदेशी लगानीकर्ताले कम्पनी दर्ताअघि नै सम्भाव्यता अध्ययनका लागि प्रस्तावित चुक्ता पुँजीको ३ प्रतिशतसम्म रकम बैंकिङ प्रणालीमार्फत भित्र्याउन सक्नेछन्, जसका लागि राष्ट्र बैंकको पूर्वस्वीकृति आवश्यक पर्ने छैन ।
त्यस्तै, सफ्टवेयर तथा सूचना प्रविधि उद्योगले पछिल्लो तीन वर्षको औसत सेवा निर्यात आम्दानीको ५० प्रतिशत वा १० लाख अमेरिकी डलरसम्म विदेशमा लगानी गर्न सक्ने बाटो पनि खुलाइएको छ । राष्ट्र बैंकको यो कदमले नेपाली आईटी कम्पनीहरूलाई विश्व बजारमा पहुँच विस्तार गर्न र विदेशी लगानी आकर्षित गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।





