काठमाडौं । बंगलादेशको प्रतिष्ठित लेखापरीक्षण संस्था हाउलदार युनुस एन्ड कम्पनीले नेपालका १० ठूला वाणिज्य बैंकहरूको सम्पत्ति गुणस्तर परीक्षणको प्रारम्भिक प्रतिवेदन नेपाल राष्ट्र बैंकलाई बुझाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सिफारिसमा गरिएको यो परीक्षणको पूर्ण प्रतिवेदन भने पुस मसान्तभित्र आउने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले प्रारम्भिक प्रतिवेदन प्राप्त भइसकेको र पूर्ण प्रतिवेदनको निष्कर्षका आधारमा आवश्यक नीतिगत तथा नियामकीय कदम चालिने बताए ।
गत कात्तिकदेखि सुरु भएको यो परीक्षणमा ग्लोबल आइएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य, कुमारी, लक्ष्मी सनराइज, प्रभु, हिमालयन, एनएमबी र एनआईसी एशिया बैंक समावेश छन् । अडिट टोलीले बैंकहरूको कर्जा वर्गीकरण, खराब कर्जा, प्रोभिजनिङ, धितो मूल्यांकन र पूँजी पर्याप्तता जस्ता पक्षको गहिरो समीक्षा गरिरहेको छ ।
आईएमएफले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधा (ईसीएफ) को शर्तअनुसार यो परीक्षण अनिवार्य गरिएको हो । आईएमएफले नेपाली बैंकहरूले खराब कर्जा लुकाइरहेको हुनसक्ने र त्यसले भविष्यमा बैंकिङ प्रणालीमा संकट ल्याउन सक्ने जोखिम औंल्याउँदै आएको छ ।
पछिल्लो समय आर्थिक गतिविधि सुस्त हुँदा बैंकहरूको नाफा घट्ने र खराब कर्जा बढ्ने क्रम देखिएको छ । यो परीक्षणले बैंकहरूको वास्तविक वित्तीय अवस्था उजागर गर्दै वित्तीय क्षेत्र सुधारका लागि महत्वपूर्ण मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ ।





