काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाउने समानुपातिक उम्मेदवारको बन्दसूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को पक्षबाट ४० जना समेटिने भएका छन् ।
आइतबार बिहान रास्वपा सभापति रवि लामिछाने र मेयर बालेनबीच भएको सहमतिअनुसार यस्तो बाँडफाँट भएको हो । सहमतिमा बालेनलाई आगामी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने उल्लेख छ ।
समानुपातिकतर्फ बुझाउनुपर्ने ११० जनाको सूचीमध्ये बालेन पक्षबाट ४० जना र बाँकी ७० जना रास्वपाबाट चयन गर्ने मौखिक समझदारी भएको स्रोतले जनाएको छ । “बालेनजीको टिमले ४० जनाको सूची छ भन्नुभयो, त्यसपछि रास्वपाले सबै ल्याउनुस् भनेको छ,” स्रोतले भन्यो ।
निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची बुझाउनका लागि आज र भोलिको समय तोकेको छ ।





