काठमाडौँ । रिज लाइन इनर्जी लिमिटेडले आगामी पुस १३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ।कम्पनीले आफ्नो १ अर्ब १८ करोड ५० लाख रुपैयाँ जारी पुँजीको २२ प्रतिशत अर्थात् २६ लाख ७ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको हो।यस चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि मात्र आवेदन खुला गरिनेछ।स्थानीय बासिन्दाका लागि छुट्याइएको ११ लाख ८५ हजार कित्ता सेयरमा गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाका सबै वडा तथा लमजुङ जिल्लाको दुधपोखरी गाउँपालिका (वडा नं. १, २, ३) र दोर्दी गाउँपालिका (वडा नं. ४, ५, ६) का बासिन्दाले आवेदन दिन सक्नेछन्।
त्यसैगरी, सर्वसाधारणका लागि निर्धारित सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ४२ हजार २०० कित्ता सेयर श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीहरूका लागि सुरक्षित गरिएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्।
वैदेशिक रोजगारीमा रहेकाहरूका लागि निष्कासन छिटोमा पुस २७ गते र ढिलोमा पुस २८ गते बन्द हुनेछ भने स्थानीयका लागि छिटोमा पुस २८ र ढिलोमा माघ १२ गतेसम्मको म्याद तोकिएको छ।
केयर रेटिङ नेपालले यस कम्पनीलाई केयरएनपी डबल बी रेटिङ दिएको छ, जसले दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको यस आईपीओमा स्थानीयले आयोजना कार्यालय गोरखा, प्रभु क्यापिटलको कमलादी कार्यालय र प्रभु बैंकका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेकाहरूले भने सि-आस्बा प्रणालीमार्फत आवेदन दिनुपर्नेछ। स्थानीय बासिन्दाले दरखास्त फारामका लागि २ रुपैयाँ शुल्क बुझाउनुपर्ने छ।





