‘जेनजी’ आन्दोलनपछिको तीन महिनामा १० प्रतिशतले राजस्व बढ्यो-अर्थमन्त्री खनाल

२०८२ पुष ३, बिहीबार १२:४८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको बताएका छन् ।अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा आज आयोजित ‘गोरखापत्र डिस्कोर्स’ को उद्घाटन समारोहमा मन्त्री खनालले बितेको तीन महिनाको तथ्यांकले नेपालको अर्थतन्त्र चलायमान भएको पुष्टि गर्ने धारणा राखेका हुन् ।

युवापुस्ता जेन जेड आन्दोलनको तीन महिनामा नेपालको अर्थतन्त्रमा पुनरुत्थान हुँदै गएको भन्दै उनले यसअवधिमा करिब १० प्रतिशतले राजस्व वृद्धि भएको जानकारी दिएका छन् ।

“गएको तीन महिनामा १० प्रतिशतको हाराहारीमा राजस्व वृद्धि भएको छ । उत्पादकत्व र उत्पादन वृद्धि भइरहेको छ, अन्तरिम सरकारले छोटो अवधिमा पनि सुधार गर्दै लगानीको वातावरण तयार गरेको भनेर चिनियाँ लगानीकर्ताले प्रशंसा गरिरहनुभएको छ”, अर्थमन्त्री खनालले भने।

मन्त्री खनालले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै यस क्षेत्रमा रहेको तरलता व्यवस्थापन र लगानीको वातावरण तयारका लागि सरकारले योजनाबद्ध काम गरिरहेको बताए।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले गोरखापत्रले गरिरहेको कामले ज्ञानको दायरा बढाउने बताउँदै पुराना पत्रिका अध्यायन अनुसन्धानका लागि अर्थविद्हरू प्रभावकारी हुने धारणा राखेका छन् । दीर्घकालीन विकासका लागि दिगो पूर्वाधार विकासलाई जोड दिनुपर्ने बताउँदै उनले सरकारले ठूलो खर्च गर्न सक्ने वातावरण तयार गर्न नेपाल राष्ट्र बैंक तत्पर रहेकामा जोड दिए।

गभर्नर डा. पौडेलले निजी व्यवसायीलाई उच्चमनोबलका साथ काम गर्न प्रोत्साहित गर्दै निष्पक्ष रूपमा हुने आगामी निर्वाचनले स्थायित्व कायम गर्ने विश्वास व्यक्त गरेका छन्।

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले समाचारका साथसाथै बहसको माध्यमबाट नेपाली अर्थतन्त्रमा देखिएको रिक्तता पूर्ति गर्दै चुनौतीलाई चिर्न र आशाको सञ्चार गर्न यो बहस आयोजना गरिएको बताए ।

उनका अनुसार नेपालको आर्थिक पुनरुत्थान, लगानीको वातावरण बनाउन र भविष्यका विकास, रणनीतिबारे उच्चस्तरीय राष्ट्रिय बहसका लागि निजी क्षेत्र, विज्ञ, नीतिनिर्माता र सरोकार भएका निकायका प्रतिनिधिबीच साझा मञ्च सिर्जना गरी चुनौती र अवसरको पहिचान गर्ने उद्देश्यले संस्थानले पहिलो पटक ‘गोरखापत्र डिस्कोर्स अन रिकभरी एण्ड रिजिलेन्स’ शीर्षकमा कार्यक्रम आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार