काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले ‘जेनजी’ आन्दोलनपछि पार्टी र नेतृत्वमा पुनर्गठन आवश्यक रहेको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै उनले एमाले पुनर्गठन गर्नुपर्ने र राजनीतिक नेतृत्वले आत्मालोचना गर्नुपर्नेमा जोड दिएका हुन्।
भट्टराईले भदौ २३ र २४ गतेको आन्दोलनले व्यवस्था र नेतृत्वलाई गहिरो प्रश्न उठाएको उल्लेख गर्दै घटनाको सत्यतथ्य छानबिन र दमनको न्यायिक अनुसन्धान हुनुपर्ने माग गरेका छन्। “अब पुनर्गठनबिना सम्भव छैन,” उनले भनेका छन्, “इतिहासका प्रत्येक संकटमा एमाले पुनर्गठित हुँदै आएको छ, यसपटक पनि त्यही बाटो लिनुपर्छ।”
उनले संविधानको रक्षा, राष्ट्रिय एकता र लोकतान्त्रिक प्रक्रियाको सुदृढीकरणलाई पहिलो प्राथमिकता दिनुपर्नेमा पनि जोड दिएका छन्।





