जेनजी आन्दोलनबाट युलेन्स स्कुलमा सवा अर्बको क्षति, ५०० कर्मचारीको रोजगारी जोखिममा

२०८२ आश्विन ८, बुधबार १४:२० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । युलेन्स एजुकेशन फाउण्डेसनले जेनजी आन्दोलनका क्रममा आफ्ना शैक्षिक संस्थाहरूमा आगजनी र लुटपाट हुँदा १ अर्ब २५ करोड रुपैयाँ बराबरको क्षति पुगेको जनाएको छ। फाउण्डेसनले आज सार्वजनिक वक्तव्य जारी गर्दै विस्तृत क्षति विवरण सार्वजनिक गरेको हो। वक्तव्य अनुसार, खुमलटारस्थित विद्यालयका ५ वटा भवन, बाँसबारीस्थित विद्यालयका ३ वटा भवन र काभ्रेको नालास्थित विद्यालयको आउटडोर लर्निङ सेन्टरमा जघन्य र आपराधिक तवरमा तोडफोड, लुटपाट र आगजनी गरी ध्वस्त बनाइएको छ। यसबाट युलेन्सका विद्यालयहरू, युलेन्स कलेज र युलेन्स सेन्टर फर एजुकेटर डेभलपमेन्ट जस्ता संस्थाहरू पूर्ण रुपमा शून्यमा पुगेका छन्।
आगजनीबाट विद्यालयका ८३ वटा गाडी ध्वस्त भएका छन्। विद्यालयका सबै एसी, कम्प्युटर, फ्रिज, स्मार्ट बोर्ड र फर्निचर या त जलाइएका छन् या लुटिएका छन्। विद्यार्थीका सबै घटनावृत्त तथा सञ्चित अभिलेखहरू पूर्ण रुपमा खरानी भएका छन्। किन्डरगार्टेनदेखि आई।बी। डिप्लोमा र कलेज तहसम्मका सबै विद्यार्थीका लकरमा रहेका पुस्तक तथा स्टेशनरीहरू पनि जलाइएका छन्।
फाउण्डेसनले उक्त आपराधिक विध्वंसले विद्यालयको १ अर्ब २५ करोड रुपैयाँ बराबरको भौतिक क्षति र अपरिमेय मानसिक तथा सामाजिक प्रतिष्ठाको क्षति पुर्‍याएको बताएको छ। यसले १,४६१ विद्यार्थीको भविष्यमाथि गहिरो अन्धकार खन्याएको र अनिश्चितताको गर्तमा डुबाइदिएको छ भने ५०० भन्दा बढी कर्मचारीको रोजगारीमा प्रत्यक्ष असर गरेको वक्तव्यमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार