
काठमाडौँ । काठमाडौँ उपत्यकाका ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले शान्ति, सुरक्षा र जनजीवनको सुरक्षालाई ध्यानमा राख्दै निषेधाज्ञा र कर्फ्युलाई निरन्तरता दिएका छन्। तर, काठमाडौँमा भने नेपाली सेनाले लगाएको कर्फ्यु र निषेधाज्ञाको समय सकिएको छ र जिल्ला प्रशासन कार्यालयले नयाँ सूचना जारी गरेको छैन।
जिल्ला प्रशासन कार्यालय ललितपुर र भक्तपुरले जारी गरेको सूचनाअनुसार, जनधनको सुरक्षा तथा सार्वजनिक सम्पत्तिको रक्षाका लागि निषेधाज्ञा तथा कर्फ्युलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम ललितपुर जिल्लाभर कर्फ्यु जारी गरिएको छ। भक्तपुरमा पनि सोही प्रावधानअनुसार निषेधाज्ञा र कर्फ्यु लागू गरिएको छ।
आज बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ भने बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ। यस अवधिमा अत्यावश्यक कामबाहेक हिँडडुल गर्न पाइने छैन।
बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्मको अवधिमा भने अत्यावश्यक कामका लागि आवतजावत गर्न पाइनेछ।
यता, काठमाडौँमा नेपाली सेनाले लगाएको कर्फ्यु र निषेधाज्ञाको समय आज बिहान ६ बजे सकिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहान साढे ९ बजेसम्म कुनै नयाँ सूचना जारी नगरेकाले काठमाडौँमा अहिले कुनै पनि निषेधाज्ञा वा कर्फ्यु लागू नरहेको बुझिएको छ। यसले गर्दा काठमाडौँको जनजीवन सामान्यतर्फ फर्कने अपेक्षा गरिएको छ।