“शिक्षकको आन्दोलन अनावश्यक हो, ९० प्रतिशत माग सम्बोधन भइसक्यो” : शिक्षामन्त्री पन्त

२०८२ भाद्र १०, मंगलवार ०१:०९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरूको प्रदर्शनलाई ‘अनावश्यक’ को संज्ञा दिएका छन्। उनले शिक्षकहरूले उठाएका ९० प्रतिशत माग विधेयकमा समेटिसकिएको दाबी गर्दै आन्दोलनको औचित्य नरहेको बताएका हुन्। “सबै माग त कसरी सम्बोधन गर्न सकिन्छ? शिक्षकसँग भएका सहमति ९० प्रतिशत विधेयकमा समेटिएको छ,” मन्त्री पन्तले भने, “शिक्षकले अहिले गरिरहेको आन्दोलन अनावश्यक हो।”
उनले शिक्षक संघ-संगठनका नेताहरूले आफ्नो राजनीति जोगाउन आन्दोलन गरेको आरोपसमेत लगाए। “नेता बनेकालाई आफ्नो समर्थन घट्छ कि भन्ने डर छ। त्यसैले कुनै समूहले एउटा विषयमा असन्तुष्टि जनाउँदैमा महासंघ आन्दोलनमा उत्रिहाल्छ,” उनले भने।
माग पूरा नभएसम्म सडक नछाड्ने शिक्षक नेताहरूको अडानलाई उनले ‘राजनीति गर्न खोजेको’ भन्दै टिप्पणी गरे।
यद्यपि, मन्त्री पन्तले यस्तो दाबी गरे पनि नेपाल शिक्षक महासंघले भने आफ्ना मागहरू सम्बोधन नभएको भन्दै पूर्वनिर्धारित आन्दोलनका कार्यक्रमहरू सुरु गरिसकेको छ। महासंघले गत भदौ ६ गते शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आजबाट देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार