सिंगो देश एउटा ठगी अभियुक्तको अघिपछि घुम्यो : गगन थापा

२०८२ भाद्र ५, बिहीबार १५:४० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै सिंगो देश एउटा ठगी अभियुक्तको वरिपरि घुमिरहेको भन्दै कडा टिप्पणी गरेका छन्। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा कांग्रेस, एमाले र माओवादीजस्ता पुराना दलमा आबद्ध दर्जनौं व्यक्तिहरू कानुनी कारबाहीको दायरामा आएको तर बहस भने एक व्यक्तिमा मात्र केन्द्रित भएको बताए।

उनले भने, “कांग्रेस, एमाले, माओवादीमा आबद्ध भएका दर्जनौँ मान्छेहरू कोही धरौटीमा छुटे, कोही थुनामा छन्, कोही फरार छन्। गोर्खा मिडियामा आबद्ध भएका मान्छेहरू पनि भित्र छन्। तर एउटा ठगीको अभियुक्तको वरिपरि बहस घुमेको छ।”

थापाले नयाँ पार्टी र त्यसका नेताप्रति जनताको अपेक्षा हुनु स्वाभाविक भएको तर छानबिनको विषयलाई विषयान्तर गर्न नहुनेमा जोड दिनुभयो। “नयाँ पार्टी आयो, नयाँ पार्टीसँग अपेक्षाहरू भए। आफ्नो पार्टीका नेतालाई सरकारले पूर्वाग्रह राख्यो कि भन्ने कुरा पनि अस्वाभाविक होइन,” उनले भने।
यसै क्रममा थापाले सहकारी ठगी प्रकरणका मुख्य अभियुक्तलाई पूर्वप्रधानमन्त्रीहरूले नै कारागारमा गएर भेटेको घटनाको पनि आलोचना गरे। उनले सातवटा अदालतले थुनामुक्त गर्न अस्वीकार गरेका अभियुक्तलाई भेट्न पूर्वप्रधानमन्त्रीहरूको दौडधुप चलेको भन्दै आपत्ति जनाए।
सहकारी ठगी प्रकरणमा मुछिएका गीतेन्द्र बाबु (जीबी) राईलाई हालै पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईले कारागारमा भेटेका थिए। थापाको टिप्पणी सोही घटनाप्रति लक्षित थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार