काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपका प्रमुख नेताहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका लागि आज (सोमबार) वासिङ्टन जाँदैछन्। युक्रेनमा जारी युद्ध अन्त्यका लागि साझा रणनीति बनाउन यो उच्चस्तरीय बैठक हुन लागेको हो।
भ्रमणमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन, जर्मन चान्सलर फ्रेडरिक मेर्ज, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, बेलायती प्रधानमन्त्री केअर स्टारमर र नेटोका महासचिव मार्क रुट लगायतका नेताहरू सहभागी हुनेछन्।
हालै अलास्कामा सम्पन्न ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको वार्ता निष्कर्षविहीन भएपछि यो भेटवार्तालाई महत्त्वका साथ हेरिएको छ। युरोपेली नेताहरूले युक्रेनको सहभागिताबिना कुनै पनि क्षेत्रीय निर्णय हुन नसक्ने र दिगो शान्ति स्थापना नभएसम्म युक्रेनलाई समर्थन जारी राख्ने अडान लिएका छन्।





