काठमाडौं । नेपालले एएफसी यू–२० महिला एसियन कप छनोटमा पहिलो जित दर्ता गरेको छ। भुटानमा आज भएको आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियालाई १–० गोल अन्तरले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक जोडेको हो। नेपालको जितमा सुक्रिया मियाले निर्णायक गोल गरिन्। प्रतिस्पर्धात्मक खेलको ९०औं मिनेटमा उनले गरेको गोल नै नेपालको जितका लागि पर्याप्त बन्यो।
यसअघि खेलमा नेपालले अग्रता लिने सुनौलो अवसर गुमाएको थियो। नेपालले प्राप्त गरेको पेनाल्टीमा मीना देउवाको प्रहार पोलमा ठोक्किएर फर्किएपछि नेपाल अग्रता लिनबाट चुकेको थियो।
९० मिनेटमा गोल गरेपछि थपिएको ३ मिनेटको इन्जुरी समयमा कुनै गोल हुन नसकेपछि नेपालले रोमाञ्चक जित हात पारेको हो।
यसअघि आफ्नो पहिलो खेलमा नेपाल आयोजक भुटानसँग १–१ को बराबरीमा रोकिएको थियो। यो जितसँगै नेपालको अर्को चरण प्रवेशको सम्भावना बलियो बनेको छ।





