काठमाडौँ। स्वतन्त्र सांसद अमरेशकुमार सिंहले राजनीतिक नेतृत्वले देश बिगारेको र कर्मचारीतन्त्रलाई पंगु बनाएको गम्भीर आरोप लगाएका छन् । शुक्रबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले देश र व्यवस्था बचाउने जिम्मेवारी अब कर्मचारीको काँधमा आएको भन्दै मन्त्रीको ‘गोटी’ नबन्न सचिवहरूलाई आग्रह गरेका छन् ।
उहाँले राजनीतिक नेतृत्वका कारण सचिवहरूले आफ्नो आत्मसम्मान गुमाएको र मन्त्रीको निर्देशनबाहेक केही काम नगर्ने अवस्था सिर्जना भएको बताए। मन्त्रीको आवासमा सचिवहरू धाउने प्रवृत्ति मौलाएको भन्दै उनले कर्मचारीतन्त्रको स्वतन्त्रतामाथि प्रश्न उठाए।
भ्रष्टाचारका काण्डमा साना कर्मचारी मात्र फसिरहेकोतर्फ औंल्याउँदै सांसद सिंहले भने, “सचिवहरूले आत्मसम्मान गुमाउनु भएको छ। राजनीति नेतृत्वले नै सचिवलाई पंगु बनायो। तैपनि देश र व्यवस्था बचाउने जिम्मा यहाँहरूको काँधमा आएको छ, देश बचाइदिनुस्, व्यवस्था बचाइदिनुस्।”
सांसद सिंहले अहिले मुलुकमा मिलेमतोमा भ्रष्टाचार मौलाएको र त्यसैका कारण प्रत्येक वर्ष बेरुजुको चाङ बढेको बताए। उनले प्रदेशहरू भ्रष्टाचारको अखडा बनेको ठोकुवा गर्दै नेपालमा जति लुट अहिले विश्वमा कहीँ नभएको समेत दाबी गरे।





