राजनीतिमा फर्कने निर्णयबाट पछि हट्दिनँ: विद्या भण्डारीको अडानबारे शेखर कोइरालाको खुलासा

२०८२ श्रावण १७, शनिबार १६:०१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन दृढ रहेको खुलासा गरेका छन् । भण्डारीसँगको हालैको भेटमा भएको संवादबारे जानकारी दिँदै कोइरालाले उनको राजनीतिक भविष्यबारेको अडान सार्वजनिक गरेका हुन् । शनिबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै कोइरालाले आफूले भण्डारीलाई राजनीतिमा फर्कन खोज्नुको कारणबारे प्रश्न गरेको बताए ।

“मैले उहाँलाई सोधें, ‘तपाईं किन राजनीतिमा फर्कन खोज्नु भएको ? पूर्व राष्ट्रपति भइसक्दा पनि किन सक्रिय हुन लाग्नुभयो ?’” कोइरालाले भने, “जवाफमा उहाँले भन्नुभयो– मैले निर्णय गरिसकेकी छु, यो निर्णयबाट पछि हट्दिनँ ।”
कोइरालाका अनुसार भेटमा पुराना स्मृति र राजनीतिक भविष्यबारे कुराकानी भएको थियो । उनले राष्ट्रपति रहँदा पनि भण्डारीसँग विभिन्न विषयमा कुरा हुने गरेको स्मरण गरे । भेटका क्रममा विराटनगरको राजनीति, प्रदेश–१ का मुख्यमन्त्री केदार कार्की र नेता नागेश कोइरालाको विषयमा समेत चर्चा भएको उनले जानकारी दिए ।

पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कने चर्चा चलिरहेको बेला कांग्रेस नेता कोइरालाको यो खुलासाले नेपाली राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार